अलपत्र मुडे–चरिकोट सडकका ठेकेदारलाई स्थानीयको १ रुपैयाँ सहयोग

 अनलाइनखबर पाटी     ४ चैत्र २०७७, बुधबार

शोभित उप्रेती – चैत्र ४ दोलखा | दोलखा जिल्ला प्रवेश गर्ने मुख्य सडक मार्ग मुडे–चरिकोट निर्माणको जिम्मा लिएर पाँच वर्षदेखि अलपत्र छोड्ने ठेकेदारलाई दोलखाका नागरिकहरुले १ रुपैयाँ संकलन गरेर बुझाएका छन् । मुडे–चरिकोट सडक संघर्ष समितिले पटक पटक सडक बिस्तार तथा गुणस्तरीय निर्माणका लागि  दबाब दिदै आएको छ |

मुडे–चरिकोट सडक संघर्ष समितिले बुधबार आयोजना गरेको विरोध कार्यक्रममा सदरमुकाम चरिकोटका स्थानीयले एक एक रुपैयाँ संकलन गरी सडक आयोजनाका प्रमुखलाई बुझाएका हुन् ।

सातदोबाटो चोकदेखि पशुपति मन्दिरसम्म माइकिङ गर्दै संघर्ष समितिले सहयोग संकलन गरेको थियो । संकलन गरिएको सात सय ४ रुपैयाँ लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीप बाराहीलाई उनकै कार्यालयमा पुगेर बुझाइएको सडक संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले अनलाइन खबर पाटीलाइ जानकारी दिए ।

पाँच वर्षदेखि अलपत्र यो सडकको ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाका सञ्चालक दीपक सापकोटा फेरि बेपत्ता भएपछि बुधबार सडक ढिलाइ विरुद्धको संघर्ष समितिले एक रुपैयाँका दरले आर्थिक संकलन गरेको हो । २०७२ भदौमा एक अर्बको ठेक्का लिएर अहिलेसम्म सडक निर्माणको काम नगर्ने शंकर माली निर्माण सेवालाई दबाब स्वरूप नागरिकबाट एक रुपैयाँका दरले रकम उठाएर पठाइएको मास्केले बताए ।

चेक बाउन्सको मुद्दामा परेका सापकोटा केही समयदेखि सम्पर्क विहीन रहेको आयोजना प्रमुख बाराहीले बताएका छन् । प्रहरीको खोजी सूचीमा रहेका उनलाई समात्न महानगरीय प्रहरी कार्यालयले टोली परिचालन गरेको छ । उनी बेपत्ता भएपछि सोही निर्माण सेवाका अन्य सञ्चालकलाई झिकाएको सडक सुधार आयोजनाले अन्य सञ्चालक  मार्फत पनि काम गराउने वातावरण नरहेको जनाएको छ ।

आयोजना प्रमुख दीप बाराहीका अनुसार यो कम्पनीले जिम्मा लिएको साइटमा सम्पूर्ण काम रोकिएको छ । ठेकेदार फरार बनेपछि उक्त कम्पनीलाई कारबाही गरेर नयाँ ठेकेदार नियुक्त गर्न दबाब बढेको छ । बाराहीले यो हप्ताको अन्तिमसम्म पनि काम सुरु नगरे ठेक्का तोड्ने प्रक्रिया सुरु हुने बताएका छन् ।

संघर्ष समितिले तत्काल ठेकेदारलाई कारबाही प्रक्रिया अगाडि बढाउन आइतबारसम्मको अल्टिमेटम दिएको छ । सोमबारबाट कडा ढंगका कार्यक्रम सञ्चालन गरिने संघर्ष समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट