कार्यसम्पादन मूल्याङ्कनमा भीमेश्वर नगरपालिकाले ७२∕०४ अङ्क

 अनलाइनखबर पाटी     २० जेष्ठ २०७९, शुक्रबार

 

दीपशकर चौलागाइ

दोलखाको ९ वटा स्थानीय तह मध्ये भीमेश्वर नगरपालिका सबैभन्दा धेरै अङ्क ल्याउन सफल भएका छन् । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा भीमेश्वर नगरपालिकाले ७२∕०४ अङ्क प्राप्त गरेको छ ।

जिल्लाको ९ स्थानीय तहमध्ये सबैभन्दा कम मेलुङ गाउँपालिकाले ४९∕४१ अंक प्राप्त गरेको छ । त्यसपछि क्रमशः कालिञ्चोक गाउँपालिकाले ६७।१३, विगु गाउँपालिकाले ६५∕०२, शैलुङ गाउँपालिकाले ६४।७४, तामाकोशी गाउँपालिकाले ६३∕४३, जिरी नगरपालिकाले ६२∕०४, बैतेश्वर गाउँपालकाले ५६∕७७ र गौरीशंकर गाउँपालिकाले ५६∕४७ अङ्क प्राप्त गरेका छन् ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्क समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो ।

जिल्लाको सबै स्थानीय तहहरुले तोकिएको समय असार १० गते भित्रै बजेट पेस गरेको पाइएको छ । आउँदो आर्थिक वर्षको लागि आय÷व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण भने जिल्लाको शैलुङ गाउँपापिलकाले मात्र पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरेको पाइएको छ ।

बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गर्नुपर्नेमा कालिञ्चोक, बैतेश्वर र मेलुङ गाउँपालिकाले तोकिएको समयभित्र सार्वजनिक नगरेको पाइएको छ । बाँकी गौरीशंकर, विगु, शैलुङ, तामाकोशी गाउँपालिका, जिरी नगरपालिका र भीमेश्वर गाउँपालिकाले तोकिएको समयभित्र बजेट कार्यान्वयनको वार्षिक समीक्षा सार्वजनिक गरेको छ ।

कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे∕नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे∕नगरेको, आउँदो आर्थिक वर्षको लागि आय∕व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे∕नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको लगायतका विषयमा मूल्याङ्कन गरेको थियो ।

यही मूल्याङ्कनका आधारमा आयोगले आर्थिक वर्ष २०७९∕८० का लागि सङ्घबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट