पोषणमैत्री स्वास्थ्य चौकी घोषणा

 अनलाइनखबर पाटी     २२ जेष्ठ २०७९, आईतवार

दीपशकर चौलागाइ

सन्तुलित आहारा, स्वास्थ्यमा सुधार, हुनुपर्दैन कसैले, कुपोषणको सिकार भन्ने नाराका साथ दोलखा स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरिएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर २ स्थित दोलखा स्वास्थ्य चौकीले पोषण सम्बन्धि सबै सुचाङ् क पुरा गरेकाले आज एक कार्यक्रमका बिच पोषण मैत्री स्वास्थ्य चौकी घोषणा गरिएको हो ।

पोषणमैत्री स्वास्थ्य संस्था हुनका लागि हरेक स्वास्थ्य संस्थामा पोषण कर्नर स्थापना हुनेपर्ने, पोषणसम्बन्धि विभिन्न सूचना मूलक पोष्टहरु स्वास्थ्य संस्था प्रदर्शन, हरेक स्वास्थ्य संस्थाको २४ महिना सम्मका बालबालिकाहरुको नियमित वृद्धि अनुगमन गरेको ९५ प्रतिशतभन्दा माथि हुनुपर्ने, हरेक स्वास्थ्य संस्थामा स्तनपान सम्बन्धि पोष्टर टाँसेको, पूर्ण स्तनपान गराउने आमाहरु ९० प्रतिशतभन्दा माथि हुनुपर्ने, ६ महिनापछि थप खानेकुराहरु मातृशिशु तथा बाल्यकालिन पोषणको मापदण्ड अनुसार खुवाएको ९० प्रतिशत भन्दा माथि हुनुपर्ने भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य संस्था भएको वडा भित्र कुनैैपनि बालबालिका कुपोषण नभएको सुनिश्चित गर्नुपर्ने, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगर्त स्कुल जाने बालबालिकाले अर्धवार्षिक रुपमा जुकाको औषधि कम्तिमा ९५ प्रतिशतले खाएको हुनुपर्ने, कम्तिमा ९५ प्रतिशत गर्भवती तथा सुत्केरी महिलाले २ सय २५ चक्की आईरन फोलिक एसिड खाएको हुनुपर्ने, ६ देखि ५९ महिनाका बालबालिकाहरुले अर्धवार्षिक रुपमा भिटामिन ए र १२ देखि ५९ महिनाका बालबालिकाहरुले जुकाको औषधि ९५ प्रतिशतले खाएको हुनुपर्ने, स्वास्थ्य संस्थामा आउने सम्पूर्ण आमा तथा शिशुहरुलाई पोषण सम्बन्धि परामर्श दिएको हुनुपर्ने, नागरिक बडापत्रमा पोषण कार्यक्रम समावेश हुनुपर्ने र अभिलेख तथा प्रतिवेदन तोकिएको बमोजिम हुनुपर्ने छ ।

भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर केसीले दोलखा स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य चौकी भएको बताउनु भएको छ । नगरप्रमुख केसीले आगमी दिनहरुमा नगरभित्रका सबै स्वास्थ्य चौकीहरुलाई पोषणमैत्री स्वास्थ्य चौकी बनाउने बताउनुभयो ।

भीमेश्वर नगरपालिकाका वडा नम्बर २ का कार्यवाहक वडाअध्यक्ष लालकृष्ण थामीको अध्यक्षतामा भएको पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर केसी, उपप्रमुख कमला बस्नेत, स्वास्थ्य प्रमुख श्याम खड्का, दोलखा स्वास्थ्य चौकीका इञ्चार्ज रामकृष्ण मास्के, ग्रामीण विकास टुकी संघका महासचिव मकरध्वज पाख्रिन, सुआहारा कार्यक्रम दोलखाका संयोजक रुपेन लामा, नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति गोकर्ण प्रसाद पोखरेल, क्षयरोग निवारण संघका अध्यक्ष हर्क बहादुर श्रेष्ठ र भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक हरिहर न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट