अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरीको काम सुस्तायो

 अनलाइनखबर पाटी     २२ जेष्ठ २०७९, आईतवार

दीपशकर चौलागाइ

दोलखाको भीमेश्वर नगरपालिका–९ डाङडुंगे डाँडामा प्रस्तावित अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरीको काम सुस्ताएको छ । सूचना तथा सञ्चार मन्त्रालय मातहत रहने प्रस्तावित चलचित्र नगरीको काम शिलान्यास लगत्तै नयाँ सरकार बनेसँगै गति लिनको साटो उल्टै सुस्तायो ।चार वर्षको अवधिमा बागमती प्रदेश सरकारले खरिढुंगादेखि ६ किलोमिटर प्रवेश मार्गको काम गरेको छ भने विद्युतीकरणका लागि खम्बा मात्र ठडिएका छन् । खानेपानीका लागि केही काम सुरु भएका छन् ।

फिल्म सिटीभित्र फिल्म निर्माताले चलचित्र निर्माणका लागि आवश्यक सबै पूर्वाधार पाउँछन् । चलचित्र निर्माण गर्न चाहनेले छायाँकनलगायतका ‘प्रि–प्रोडक्सन’ र सम्पादनलगायतका ‘पोष्ट–प्रोडक्सन’का सबै काम यही फिल्म सिटीमा गर्न सक्नेछन् । त्यसका लागि आयोजनाअन्तर्गत इन्डोर सुटिङका लागि कथाअनुसारको प्राकृतिक र मानव निर्मित सम्पूर्ण आवश्यक पृष्ठभूमि निर्माण हुनेछन् भने आवास र खानपानका लागि होटललगायत अन्य आवश्यक सम्पूर्ण पूर्वाधारसमेत निर्माण हुनेछन् ।

फिल्म सिटी आयोजना कस्तो हुने भन्ने सम्बन्धमा चलचित्र विकास बोर्ड कन्सल्टेन्टमार्फत त्यसको डीपीआर तयार गरिसकेको छ । फिल्म सिटीका सम्पूर्ण संरचना निर्माणका लागि ७६।२५ हेक्टर जमिन आवश्यक पर्ने सो प्रतिवेदनमा उल्लेख छ ।

इन्डोर र आउटडोर सुटिङका लागि यति धेरै जग्गा आवश्यक परे पनि मुख्य संरचना ९।६१ हेक्टरमा मात्र निर्माण हुने डीपीआरमा उल्लेख छ । मुख्य संरचना सबै दोलखामा नै बन्नेछन् । अन्तर्राष्ट्रियस्तरको फिल्म सिटी निर्माणका लागि चलचित्र विकास बोर्डबाट परामर्शदातामार्फत डीपीआर तयार पारेको हो ।

अध्ययनअनुसार यहाँ बन्ने फिल्म सिटी विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको हुने दाबी गरिएको छ । प्रस्तावित फिल्म सिटी निर्माण हुने डाङ्डुंगे डाँडा २८ सय मिटरदेखि ३४ सय मिटरसम्मको उचाइमा रहेको छ । दोलखाको लाकुरीडाँडाको डाङडुंगेमा रहेको सेतीदेवी दादर सामुदायिक वनका उपभोक्ताले फिल्म सिटीका लागि आवश्यक जग्गा भोगाधिकार दिइसकेको छ ।

भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काका अनुसार बागमती प्रदेश सरकारकै सहयोगमा भीमेश्वर नगरपालिकाले चालू आर्थिक वर्षमा गेट, पाहुना घर, हललगायतका संरचनाजस्ता पूर्वाधार निर्माणका लागि साढे तीन करोड विनियोजन गरेको छ । यसको टेण्डरसमेत भइसकेको छ । अर्बौंको आयोजनामा सानोतिनो बजेटले खासै काम हुने देखिन्न । संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अन्तर्राष्ट्रिय लगानीसमेत ल्याएर काम गर्नुपर्ने उनको सुझाव छ ।

अघिल्लो सरकारले नै शिलान्यास गरेकोभन्दै अघिल्लो केपी ओली सरकारले यसलाई प्राथमिकतामा राखेन । चुनावी घोषणा पत्रमा प्राथमिकतामा फिल्मसिटी निर्माणको काम पूरा गर्ने भनेर राखेर दोलखाबाट संघीय सांसदको चुनाव जितेर विभागीय मन्त्रालयकै नेतृत्व पार्वत गुरुङले गर्दा अब सुस्ताएको फिल्म सिटी अघि बढ्ने आशा स्थानीयले गरेका थिए तर उनकै पालामा आएको बजेटबाटै फिल्म सिटीको नाम हरायो ।

गौरीशंकर चलचित्र समाज दोलखाका अध्यक्ष शम्भु गौतमले स्थानीय सांसद नै विभागीय मन्त्री भएका बेला फिल्म सिटीको कामले तीव्रता पाउनु पर्नेमा उल्टै संघीय सरकारको बजेटबाट नामै हराउनु दुःखद रहेको बताए ।

फिल्म सिटी आयोजना निर्माणस्थल प्राकृतिक सौन्दर्ययुक्त भएकाले इन्डोर सुटिङका साथै आउटडोर सुटिङका लागि समेत यो ठाउँ महत्वपूर्ण छ । यहाँबाट जुगल हिमाल श्रृङ्खला र रोल्वालिङ हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । वैशाख र जेठ महिनामा विभिन्न जात र रङका गुराँसले यहाँ आउने पर्यटकलाई स्वागत गरिरहेको हुुन्छ । जैविक र वनस्पतिगत विविधता भएको यो क्षेत्रमा ६ प्रजातिका गुराँस फुल्छन् भने र ५० प्रजातिका जीवजन्तु पाइने प्रतिवेदनले देखाएको छ । उपयुक्त मौसममा जानेहरूले विभिन्न रङ र प्रजातिका गुराँसको अवलोकन गर्न सक्छन् । डाङडुंगे डाँडाको अधिकांश क्षेत्र गुराँसको जंगलले ढाकेको छ । त्यसैगरी यहाँ खरायो, रतुवा मृग, झारल, घोरल, बँदेललगायत जीवजन्तुको नजिकैबाट अवलोकन गर्न सकिन्छ ।

राजधानी काठामाडौँबाट करिब ११० किमिमा पर्ने खरिढुंगाबाट डाङडुंगे डाँडा जानका लागि साढे ६ किलोमिटर उत्तरतिरको उकालो चढ्नुपर्छ ।

त्यसो त, २८ सय मिटरदेखि ३४ सय मिटरसम्म पर्ने डाङडुंगे डाँडाको यो क्षेत्रमा पुसदेखि चैत महिनासम्म हिउँको मजा पनि लिन सकिन्छ । माथिल्लो क्षेत्रमा समथर मैदान भएकाले असारदेखि असोजसम्म समशीतोष्ण घाँसे हरियालीसँग रमाउन सकिन्छ ।

फिल्म सिटी आयोजनास्थल वरपर तामाङ, नेवार, शेर्पा तथा खस संस्कृति पाउन सकिन्छ । यति महत्वपूर्ण आयोजनाबाट संघीय सरकारले हात झिके पनि प्रदेश सरकारले अघि बढाउनेमा मन्त्री भए लगत्तै जिल्ला आएका बागमती प्रदेश सरकारका मन्त्री विशाल खड्काले आश्वासन दिए ।

विस्तृत परियोजना प्रतिवेदनअनुसार आयोजनाको अनुमानित लागत दुई अर्ब ७५ करोड छ । यो लागत डीपीआरमा उल्लेख भएको लागत भएकाले सरकारले त्यसैलाई प्रस्ताव गरेको छ । यसअन्तर्गत फिल्म सिटीका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचना पर्दछन् । वरिष्ठ कलाकार मदनदास श्रेष्ठको अगुवाइमा फिल्मसिटी निर्माणका लागि लगातार दबाब दिँंदै आएको छ । एक महिनाअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्याल नेतृत्वको टोली निर्माणस्थलको अवस्था बुझन स्थलगत भ्रमण गरेर फर्केको छ ।

नेपाली चलचित्रको गुणात्मक र संख्यात्मक विकासका लागि कोसेढुंगा सावित हुनसक्ने फिल्म सिटी नेपालकै अर्थतन्त्रलाई सघाउने आयोजना बन्न सक्छ । यो फिल्म सिटीको निर्माणले दोलखाको पर्यटनको विकासमा समेत ठूलो फड्को मार्न सक्छ ।

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट