पोखरामा प्याराग्लाइडिङ दुर्घटनासँगै चुँडियो निसिमको उडान

 अनलाइनखबर पाटी     ३० आश्विन २०७९, आईतवार

असोज ३०, पोखरा । आइतबार बिहानैदेखि पोखराको आकास सफा थियो र हिमाल खुलेका थिए । माछापुच्छ्रे हिमालको सामुन्ने सफा आकासमा प्याराग्लाइडिङमा कौशल देखाएर उपाधि चुम्ने सपना पनि उसैगरी खुलेको निसिम थापाको मनमा ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत उपाधि जित्न २६ वर्षीय निसिम उत्साही थिए । शनिबार उत्कृष्ट प्रदर्शन गरेका निसिम आइतबार अझै आफ्नो कौशल देखाउन चाहन्थे ।

उनको प्रदर्शन देखेर नै त्रिभुवन आर्मी क्लबले यो प्रतियोगिताका लागि निसिमलाई करारमा अनुबन्ध गरेको थियो । उनले पनि मिहिनेतपूर्वक अभ्यास गरेका थिए । आइतबार र सोमबार उत्कृष्ट प्रदर्शन गरे उनको समूह विजेता हुने पक्काजस्तै थियो ।

मौसम र हावाको गति परीक्षण गर्न एपीएफका प्रशिक्षक सुरेन गुरुङ उडिसकेका थिए । आइतबार क्रस कन्ट्री प्याराग्लाइडिङ प्रतियोगिताका लागि पहिलो नम्बरमा उनै निसिमले टेक अप गरे, अरु तम्तयार अवस्थामा थिए ।

सराङकोटबाट टेक अप गरेर निसिम ५०/६० मिटर माथि के पुगेका थिए, उनको ग्लाइड फनफनी घुम्यो र जमिनतिर खस्दै बजारिन पुग्यो । ग्लाइडको एउटा भागलाई हावाले खुम्च्याइदियो र आकासतिर उड्दै जानुपर्ने निसिममा भुइँतिर खसे ।

नवौं राष्ट्रिय त्रिभुवन आर्मी क्लबलाई उपाधि जिताएर आफू पनि प्लाराग्लाइडिङ क्षेत्रमा चम्किने निसिमको सपना निमेषभरमै चुँडियो । दुर्घटनापछि तत्कालै निसिमलाई उपचारका लागि अस्पताल पुर्‍याइयो । तर डाक्टरले प्राण गइसकेको जानकारी गराए ।

संसारकै उत्कृष्टमध्ये मानिने पोखराको प्लाराग्लाइडिङ आकासबाट एक आशालाग्दा खेलाडीको इहलीलामात्रै समाप्त भएन, यही खेलबाट विश्वमा नेपाललाई चिनाउने एउटा सपना पनि टुटेको महसुस पोखरेलीले गरेका छन् । प्लाराग्लाइडिङमा कहिलेकाहीँ देखा पर्ने प्राविधिक समस्याले निसिमको उपाधि चुम्ने हुटहुटीको अन्त्य गरिदियो ।

‘म आकासमै थिएँ । निसिमले टेक अप गरेर ५०÷६० मिटर माथि पुग्नेबित्तिकै उसको ग्लाइड घुमिसकेको थियो । अलि धेरै उचाइमा भएको भए कन्ट्रोल गर्न सजिलो हुने थियो तर कम हाइट भएकाले भुइँमा खसिहाल्यो’, एपीएफका प्रशिक्षक सुरेन गुरुङले भने, ‘आकासमा उड्दा कहिलेकाहीँ ग्लाइड कोल्याप्स हुन्छ ।’

हावा र मौसमको अवस्था बुझ्न सुरेन उडेलगत्तै पहिलो खेलाडीका रुपमा निसिमले नै टेक अप गरेका थिए । सबै ठीकठाक हुँदाहुँदै पनि निसिमले टेक अप गरेको केही मिनेटमा प्याराग्लाइडिङ घुम्दै सम्हालिन नसकेर भुँइमा खसेको सुरेनले बताए । उनका अनुसार यसलाई प्लाराग्लाइडिङको प्राविधिक भाषामा ‘कोल्याप्स हुने’ भनिन्छ ।

निसिमसँग लामो अनुभवमात्र थिएन, देश तथा विदेशमा प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिएको र जितेको इतिहास पनि थियो । नेपाल च्याम्पियन लिगमा पटक पटक उपाधि जितेका निसिमले भारत, कोरिया, इन्डोनेसिया लगायतका देशका आकासमा प्याराग्लाइडिङ कला देखाइसकेका थिए ।

निसिम प्याराग्लाइडिङबाटै देश विदेशमा पुग्न र चिनिन चाहन्थे । ‘उनको रगरगमा प्याराग्लाइडिङ थियो । केही देशमा प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिएपछि उनले एक दिन वर्ल्डकप नै जितेर देखाउँछु भन्थे’, उनका प्याराग्लाइडिङ पाइलट साथी अर्जुन बरालले भने, ‘उनी व्यवसायिक उडान पनि गर्थे तर सोलो उडानमा निकै रुची राख्थे । अब भने उनको सपना, योजना सम्झनामात्रै रह्यो ।’

गोरखा पालुङटार स्थायी घर भएका निसिम परिवारसँगै पोखराको हस्पिटल चोक बस्थे । उनका बुबा प्रकाश थापा गोरखा–२ मा पुष्पकमल दाहाल प्रचण्डको क्षेत्रमा स्वतन्त्र उम्मेदवारीसमेत दिएर प्रचारप्रसारमा थिए ।

केही समय रेडियोमा र लामो समय पोखराको एसओएस स्कुलमा प्राध्यापन गरेका प्रकाश र पोखरामै रिच वाटर मन्टेसरी चलाइरहेकी उनकी श्रीमती सावित्री मोक्तानको एक्लो सन्तान हुन् निसिम ।

‘बुबा आमाले पनि उनको योजनालाई पूरै साथ र सहयोग दिनुभएको थियो । उसलाई जुनसुकै देशमा पठाउन सक्नुहुन्थ्यो तर उहाँहरुले नेपालमै केही गर्नुपर्छ भनेर ऊर्जा भरिरहनुहुन्थ्यो’, पाइलट अर्जुनले भने, ‘तर, दुर्घटनाले परिवार, सिंगो पोखरेली प्याराग्लाइडिङ क्षेत्र र नेपाललाई नै चिनाउने सम्भावना नै उडाइदियो ।’

निसिम नेपालकै उत्कृष्ट दशभित्र पर्ने प्याराग्लाइडिङ पाइलट रहेको लामो समयदेखि संगत गरेका पालइलट क्लबका अध्यक्ष विमल पहारीले बताए ।

‘टेन्डममा होस् र क्रस कन्ट्रीमा उनको निकै राम्रो कौशल थियो’, विमलले भने, ‘तर, कस्तो दुर्भाग्य भयो, अब उनी सम्झनामा मात्रै रहे ।’

उनले नेपाल च्याम्पियन लिगमा थुप्रै पटक विभिन्न उपाधि जितेको बताए । ‘पर्फर्मेन्सकै आधारमा त्रिभुवन आर्मी क्लबमा करारमा अनुबन्ध भएका थिए । विभागीय टोलीमा पर्दा उनी निकै खुसीमात्र थिएनन्, उपाधि जित्ने हुटहुटी पनि थियो’ विमलले भने ।

प्रतियोगितामा ५ समूहका २५ जना खेलाडी सहभागी थिए । प्रतियागितामा टर्न प्वाइन्टहरु पार गर्नुपर्ने हुन्छ भने ग्लाइडरमा जीपीएस जडान गरी डिभाइसमार्फत नतिजा निकालिने प्रशिक्षक सुरेन गुरुङले बताए ।

‘शनिबारको टास्कमा उनको समूह पहिलो नम्बरमै आएको थियो । आज र भोलिको टास्क पूरा गरेपछि नतिजा निकालिन्थ्यो’, सुरेनले भने, ‘क्रस कन्ट्रीमा अहिलेसम्म आर्मी नै अगाडि छ ।’
निसिमले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीबाटै खेलेका थिए र त्यो बेला आर्मीले रजत पदक जितेको थियो । आठौंबाट मात्र प्याराग्लाइडिङलाई राष्ट्रिय खेलकुदमा समावेश गरिएको हो । पोखरामा भएको प्रि–वर्ल्ड कपमा पनि निसिमले एउटा उपाधि पाएका थिए ।

उनको निधनले सिंगो पोखरेली प्याराग्लाइडिङ क्षेत्रलाई नै स्तब्ध बनाएको नेपाल हवाइ खेलकुद संस्था (ना) का अध्यक्ष सुनीलबहादुर भट्टराईले बताए । यसअघि पोखरा प्याराग्लाइडिङ कम्पनीमार्फत व्यवसायिक उडानसमेत गर्दै आएका निसिमले पछिल्ला केही वर्षदेखि एड्रिएलन प्याराग्लाइडिङ कम्पनीमार्फत काम गर्दै आएका थिए । निसिमले एक दशकदेखि प्याराग्लाइडिङ उडान गर्दै आएको भट्टराईले बताए ।

यसपालि प्रतियोगितमा त्रिभुवन आर्मी, एपीएफ, गण्डकी, कर्णाली र प्रदेश नम्बर १ सहभागी छन् । तर, प्रतियोगिता अनिश्चित बनेको छ भने नागरिक उड्डयन प्राधिकरणले नेपालभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध पनि लगाएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट