कांग्रेस र माओवादीबीच ‘खटपट’ किन, नयाँ सत्ता गठबन्धन बन्नेत हैन

 अनलाइनखबर पाटी     १९ फाल्गुन २०८०, शनिबार

 

फागुन १९, काठमाडौं ।  सरकारको नेतृत्वकर्ता नेकपा माओवादी र उसको प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस दुवैले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने अडान राखेपछि सत्ता गठबन्धन “भत्किन सक्ने” अनुमान गरिन थालेको छ।
यद्यपि कांग्रेस र माओवादीका नेताहरू “राष्ट्रिय सभा अध्यक्षको निर्वाचनसम्बन्धी विषय”ले गठबन्धन सङ्कटमा नपर्ने र चाँडै शीर्ष नेताहरूबीच सहमति हुने दाबी गरेका छन्।कतिपयले सत्ता गठबन्धनभित्रको “खटपट”बाट प्रतिपक्षी नेकपा एमालेले फाइदा लिन खोजेको र “माओवादी-एमाले निकटता बढेको” औँल्याएका छन्।
एमालेका नेताहरू भने “तत्काल माओवादी वा कांग्रेससँग” गठबन्धनको सम्भावना नरहेको बताउँछन्। गठबन्धनका साझेदार कांग्रेस र माओवादीबीच यसअघि राष्ट्रिय सभाका लागि भएको निर्वाचनका बेला खटपट बढेको आशङ्का थियो।

राष्ट्रिय सभा निर्वाचनमा वर्तमान सत्ता गठबन्धनका दलहरूले तालमेल गरेका थिए। तर कोशी प्रदेशमा माओवादीकी उम्मेदवार चम्पादेवी कार्की पराजित भइन् तर कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भए। कोशीमा एमालेकी रुक्मिणी कोइरालाले बाजी मारिन्। त्यसैले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आफ्ना उम्मेदवारको साटो एमाले उम्मेदवारलाई मत दिँदा कोशीमा आफूले हार बेहोर्नुपरेको माओवादी नेताहरूको गुनासो छ। दुई दलबीच खटपट बढाउने अर्को कारण हालै सम्पन्न कांग्रेस महासमिति बैठकमा उठेका तीनवटा विषय पनि भएको केही माओवादी नेताहरूले बताएका छन्।
कांग्रेस र माओवादीबीच देखिएको भनिएको मतभिन्नताका कारण गठबन्धन टुट्ने आशङ्का गरिए पनि दुवै दलका नेताहरू त्यसो नहुने बताउँछन्। माओवादी नेता शाहले भने, “संविधान र गणतन्त्रको रक्षाका लागि र आफ्ना प्रतिबद्धता पूरा गर्नका लागि पनि शीर्ष नेताबीच आपसी समझदारी छ र त्यसैअनुसार गठबन्धन अघि बढ्छ।”
कांग्रेस नेत्री भुसाल पनि अहिले देखिएको केही फरक मतकै कारण गठबन्धन नटुट्ने दाबी गर्छिन्।कांग्रेसले महासमितिबाट पारित गरेको एक्लै चुनाव लड्ने अजेन्डाले गठबन्धनलाई असर नगर्ने उनको तर्क छ। उनी त्यस्तो निर्णय सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीले पनि गरिसकेको तर चुनावका बेलामा परिस्थिति के हुन्छ भन्नेमा त्यो भर पर्ने बताउँछिन्।
भुसालले भनिन्, “सबैभन्दा प्रमुख कुरा भनेको पाँच वर्षसम्म यो गठबन्धन नै चलाउने र स्थिर सरकारको रूपमा रहेर आफ्ना कामहरू पूरा गर्ने तथा राजनीतिक अस्थिरता हुन नदिने भन्ने हो। भागबन्डाको विषयलाई लिएर गठबन्धन टुट्छ भन्ने लाग्दैन। यसैले गर्दा गठबन्धन यताउता होला भन्ने लाग्दैन।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट