केटी साथी भेट्न नदिएको निहुँमा सिरहामा आफ्नै साथी कृष्णको हत्या

 अनलाइनखबर पाटी     ५ कार्तिक २०८१, सोमबार

कार्तिक -५, गोलबजार, सिरहा । सिरहामा ५ जना लागुऔषध सेवनकर्ताले आफ्नै साथीको हत्या गरेको खुलेको छ । गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरुले गरेको खुलेको हो ।

महराको शव सुखीपुल नगरपालिका १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा असोज २८ गते साँझ फेला परेको थियो । प्रहरीको अनुसन्धानमा सँगै दुर्गा मेला हेर्न गएका लागूऔषध सेवनकर्ता साथीले यातनासहित हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए । त्यहाँ उनीहरूका अन्य साथीहरू भेट भएका थिए । डीएसपी पासवानका अनुसार सबैले नसालु पदार्थ सेवन गर्ने योजना बनाउँदै मेला स्थलभन्दा पूर्वतिरको खोलानजिक गए ।

उनीहरूले गाँजा र लागुऔषध नाईट्राभेट ट्याबलेट सेवन गरे । त्यसै क्रममा कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने योजना सुनाए । अन्य साथीहरूले पनि ती महिलासँग भेट्ने इच्छा व्यक्त गरेपछि कृष्णले स्वीकारेनन् ।

प्रहरीका अनुसार सोही विषयका उनीहरुबीच विवाद बढ्यो र रिसको आवेगमा हत्या योजना बनाए । पाँचैजनाले कृष्णलाई चारतैतिरबाट घेरा हालेर धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पासवानले बताए ।

अपराध लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर फरार भएका थिए । असोज २८ गते कृष्णको शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा आफ्नै साथीद्वारा हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

आरोपीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *