बर्खास्त गरेको चिठ्ठी आए चीन भ्रमणमा जान्नँः तीन नम्बर प्रदेश सरकारबाट बर्खास्त गरिएका भौतिक योजना मन्त्री स्थापित

 अनलाइनखबर पाटी     १७ कार्तिक २०७५, शनिबार

तीन नम्बर प्रदेश सरकारबाट बर्खास्त गरिएका भौतिक योजना मन्त्री केशव स्थापितले आफूलाई हटाएको बारेमा औपचारिक रुपमा जानकारी नआएको बताएका छन्।

मुख्यमन्त्री डोरमणि पौडेलसँग यसबीचमा सम्पर्क नभएको स्थापितले बताए।

‘मलाई यस विषयमा औपचारिक जानकारी छैन। औपचारिक निर्णय गर्नुभन्दा अघि मिडियामा जाने चलन रहेछ,’ स्थापितले भने, ‘बुधबारपछि मुख्यमन्त्रीसँग मेरो सम्पर्क भएको छैन।’

मुख्यमन्त्रीकाे सचिवालयबाट स्थापितलाई बर्खास्त गरिएको जनाइएको छ। स्थापितले सम्हाल्दै आएको जिम्मेवारी मुख्यमन्त्री पौडेलले सम्हाल्ने भएका छन्।

‘प्रधानमन्त्री बिरामी भएको समयमा यस्तो विषय आयो। मुख्यमन्त्रीले मैले काम गर्न नसकेकाे आरोप लगाउनु भएको छ। त्यो प्रमाणित गर्नुपर्छ’ स्थापितले भने, ‘त्यो चुनौति हो।’

स्थापितले औपचारिक जानकारी नआए आइतबार चीन भ्रमणमा जाने बताए। ‘औपचारिक रुपमा जानकारी आए जान्नँ। त्यहाँ मलाई मन्त्रीको हैसियतमा बोलाएको हो,’ स्थापितले भने।

गेट्स मिलिन्डा फाउन्डेसन र चीन सरकारले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन स्थापित आइतबार चीन जाने कार्यक्रम रहेको थियो।

प्रदेश सरकारको बुधबार भएको मन्त्रिपरिषदकाे बैठकमा स्थापितले मुख्यमन्त्री पौडेलसँग भनाभन गरेको आरोप लागेको छ। सो घटना लगत्तै स्थापित काठमाडौं आएका थिए।

मुख्यमन्त्री पौडेल स्थापितलाई बर्खास्त गर्नुपर्याे भन्दै त्यस विषयमा पार्टी नेतृत्वसँग छलफल गर्न बिहीबार काठमाडौं आएका थिए।

पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग शिक्षण अस्पतालमा भेट गर्दै मन्त्री स्थापितको विषयमा छलफल गरेका थिए।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट