सशस्त्र जनयुद्धको स्मरणमा दिवस मनाइँदै – नेकपा

 अनलाइनखबर पाटी     २९ माघ २०७५, मंगलवार

काठमाडौँ,  माघ २९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २०५२ सालमा जनयुद्ध सुरु गरेको स्मरणस्वरुप दिवस मनाउने भएको छ । दिवस मनाउन नेकपाका महासचिव विष्णु पौडेलले पार्टीका विभिन्न तहलाई सर्कुलर जारी गर्नुभएको छ ।

यही फागुन १ गते केन्द्र, प्रदेश र जिल्ला पार्टी कार्यालयहरूमा जनआन्दोलन तथा जनयुद्धका शहीदको सम्मानमा श्रद्धाञ्जलि कार्यक्रमसहित दिवस मनाउने निर्णय भएको जनाइएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भएको छलफलमा पार्टीले यो दिवस मनाउने सहमति गरेको बताइएको छ । धुम्बाराहीस्थित नेकपाको कार्यालय सचिव एवं केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार सो अवसरमा सातवटै प्रदेश तथा ७७ वटै जिल्लामा विभिन्न कार्यक्रम गरी दिवस मनाउन सर्कुलर जारी भएको छ ।

द्वन्द्वका क्रममा शहीद भएकाको सम्झनामा आआफ्नो तरिकाले कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जलि कार्यक्रमसहित दिवस मनाउन महासचिव पौडेलबाट सर्कुलर जारी भएको उहाँले जानकारी दिनुभयो ।
केन्द्रमा कस्तो कार्यक्रम गर्ने, नगर्ने हालसम्म केही तय नभएको बताउँदै उहाँले यसको विषयमा शीर्ष नेताहरू बीचमा छलफल भइरहेको बताउनुभयो ।

स्रोतका अनुसार फागुन १ गते धुम्बाराहीस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिनेछ । जसमा अध्यक्षद्वय ओली र प्रचण्डसहित शीर्ष नेताहरूको उपस्थिति रहने बताइएको छ ।
गत जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा एकीकरण भएपछि यसपटक नेकपाले पहिलो पटक फागुन १ गते यो दिवस मनाउन लागेको हो ।

विसं. २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्धको घोषणा भएको दिनलाई दिवसको रुपमा मनाउने गरेको छ । तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरू गरेको २३ वर्ष पूरा भएको छ । जनयुद्ध शुरू गरिएको सम्झनामा नेकपा र अलगअलग रहेका विभिन्न समूहका माओवादीले छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी जनयुद्ध दिवस मनाउने भएका छन् । माओवादीमा यतिका परिवर्तन आए जस्तै देशमा पनि थुप्रै परिवर्तन भएको छ । संविधानसभाबाट संविधान निर्माण भएको छ । संविधान कार्यान्वयनको साथै समृद्ध नेपाल सुखी नेपालीको नारा दिँदै आर्थिक समृद्धिको बाटोमा देश अगाडि बढिरहेको छ ।

जनयुद्ध दिवस शुरूका दिनमा खुलामञ्चमा भव्यताका साथ मनाइन्थ्यो भने अहिले यसको स्वरुप फेरिएको छ । २०५२ फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरी सशस्त्र युद्धको सुरुआत भएको थियो । त्यसपछि १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भएका थिए । शान्ति प्रक्रिया धेरै अगाडि बढे पनि अझै केही काम बाँकी छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद पुनः थपिएको छ ।

जनयुद्धको नेतृत्वकर्ता ‘प्रचण्ड’ हाल नेकपाको अध्यक्ष हुनुहुन्छ । त्यस्तै, माओवादीबाट अलग भएर डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल गठन गर्नुभएको छ । सोही पार्टीबाट अलग भएर मोहन वैद्य किरणले नेकपा (क्रान्तिकारी माओवादी) गठन गर्नुभएको छ भने नेत्रविक्रम चन्द विप्लवले पनि माओवादीबाट अलग भएर नेकपा (माओवादी) पार्टी गठन गर्नुभएको छ ।

विसं.२०६३ मा विस्तृत शान्ति सम्झौता गरी नेकपा (माओवादी) शान्ति प्रक्रियामा आयो । १० वर्ष सशस्त्र युद्धमा बिताएका माओवादीले १० वर्ष शान्ति प्रक्रियामा पनि बितायो । प्रचण्डको नेतृत्वमा दुईपटक र डा. भट्टराईको नेतृत्वमा एक पटक सरकार पनि यस बीचमा बनिसकेको छ । १० वर्षसम्म जनयुद्धको नेतृत्व तहमा भूमिका निर्वाह गर्नुभएका डा. भट्टराईले माओवादीबाट अलग भएर नयाँ शक्ति नेपाल गठन गर्नुभयो । डा.भट्टराईको पार्टीले भने जनयुद्ध दिवस नमनाउने जनाइएको छ ।

माओवादीबाट अलग भई क्रान्तिकारी माओवादी गठन गर्नुभएका वैद्य र विप्लव नेतृत्वको नेकपाले रत्नपार्कस्थित शान्तिबाटिकामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने जानकारी दिएका छन् । गोपाल किराँतीले पुनर्गठन गर्नुभएको माओवादी केन्द्रले प्रज्ञा भवनमा कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने भएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट