कालिंगा रंगशालामा सम्पन्न हिरो गोल्डकप: नेपाल उपविजेता, फाइनलमा म्यानमारसँग ३-१ ले पराजित

 अनलाइनखबर पाटी     ३ फाल्गुन २०७५, शुक्रबार

भारतको भुवनेश्वरमा शुक्रबार सम्पन्न हिरो महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल उपविजेता बनेको छ।

कालिंगा रंगशालामा सम्पन्न फाइनलमा म्यानमारसँग ३-१ गोलअन्तरले पराजित हुदैँ नेपाल उपविजेतामा सीमित रह्यो। गोल्डकपमा नेपालसहित म्यानमार, भारत र इरानको सहभागिता थियो।

फाइनल खेलको ३४औं मिनेटमा म्यानमारले सुरुवाती अग्रता लिएको थियो। म्यानमारकी यी यी ओलेले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्।

तर पहिलो हाफको अन्तिम मिनेटमा नेपालले बराबरी गोल फर्कायो। नेपालका लागि मन्जलीकुमारी योन्जनले गीता रानाको फ्रिकिकमा पेनाल्टी क्षेत्रबाट गरेको प्रहारले जाली चुमेको थियो।

त्योसँगै पहिलो हाफ १-१ को बराबरीमा सकिए पनि दोस्रो हाफमा म्यानमारले थप दुई गोल गर्यो।

५३औं मिनेटमा विन थिङ टुनले डी बक्सको मध्य भागबाट नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै पुन: म्यानमारलाई अग्रता दिलाएकी थिइन।

६३औं मिनेटमा यी यी ओलेले व्यक्तिगत दोस्रो गोल गर्दै म्यानमारलाई ३-१ को जित दिलाइन। उनले डीबक्स भित्रबाट पोस्टको माथिल्लो भागमा गरेको प्रहारलाई नेपालकी गोलरक्षकले जोगाउन सकिनन्।

भारतले नेपालसँगै इरान र म्यानमारलाई बोलाउँदै हिरो गोल्डकप महिला फुटबल प्रतियोगिता आयोजना गरेको थियो। म्यानमार समूह विजेता र नेपाल उपविजेता बन्दै फाइनल खेल्न  पुगेका थिए।

लिग चरणमा नेपालले तीनमध्ये दुई खेलमा जित हात पारेको थियो। जसमा नेपालले भारतलाई २-१ र इरानलाई ३-० ले पराजित गरेको थियो भने पहिलो खेलमा म्यानमारसँग ३-० को हार ब्यहोरोको थियो।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट