सामाजिक सञ्जालमा ‘लुट्न सके लुट’: नेकपामा तीन धार, प्रतिपक्ष र सार्वसाधारणको आक्रोश – प्रजातन्त्रको बलत्कार

 अनलाइनखबर पाटी     ५ फाल्गुन २०७५, आईतवार

गायक पशुपति शर्माको युट्युब च्यानलबाट ‘लुटन सके लुट कान्छा’ बोलको गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रिया आए। सत्तारुढ दलको एक समूह गीतको चर्को आलोचनामा उत्रियो भने प्रतिपक्ष र नागरिकले गीतको खुलेर तारिफ गरे।

समाजका सबै क्षेत्रमा विकृति र विसंगति रहेको र त्यसको मूल कारणका रुपमा राजनीति रहेको, सरकारले जनताका पक्षमा भन्दा पनि राष्ट्रपति लगायतका विशिष्ट व्यक्तिको सुविधा बढाउँदै लगेको भाव गीतमा आएपछि सत्तापक्षबाट गीतको चर्को आलोचना भयो र गायक शर्मामाथि कडा दबाब आयो। त्यही आलोचना र दबाब थेग्न नसकेपछि शर्माले उक्त गीत युट्युब च्यानलबाट हटाए।

शर्माले गीत युट्युबबाट हटाएपछि सामाजिक सञ्जाल मूलतः पक्ष र विपक्ष दुई ध्रुवमा बाँडियो भने गीत त ठीक हो शब्द चयनमा ढंग पुगेन भन्ने मधुर स्वरमा तेस्रो धार पनि देखियो।

गायक शर्माले हटाएको गीतलाई लिएर कलाकारदेखि राजनीतिक नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा राखेको धारणालाई यहाँ प्रस्तुत गरिएको छ।

सत्तारुढ दलमै तीन धार
गीतको विषयमा सत्तापक्ष अर्थान नेकपाका नेता तथा कार्यकर्ताबीच मत बाँझिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली निकटले गीतको चर्को आलोचना गरेका छन् भने पूर्वमाओवादी तथा सत्ताको कुनै लाभमा नरहेकाले यसको विरोध गरेका छन्।

नेकपाकी सचेतक शान्ता चौधरीले केपी ओलीजस्ता राष्ट्रप्रेमी नेतालाई यमराजको संज्ञा दिएर गीत आउँदा ताली बजाउन नसकिने प्रतिक्रिया दिएकी छन्। उनले भनेकी छन्, ‘एउटा कलाकार जसले आफ्नो स्वाभिमान झुकाएर गीत गाउँछ, अरु देशमा लुट्न पाइँदैन हाम्रो देशमा मात्रै पाइन्छ भनेर विश्वसामू आफ्नो देशको गरिमालाई कमजोर बनाउँछ भने तिनै कलाकार देशको गहना कसरी हुन सक्छन्?’

उता सत्तापक्ष नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले कला, साहित्य र सिर्जना क्षेत्रलाई राजनीतिको आलोचना गर्न पाउने अधिकार हुने बताएका छन्। उनी भन्छन्, ‘राजनीति आफैंमा आलोचनात्मक चेतना हो। कला, साहित्य र सिर्जना क्षेत्रलाई राजनीति क्षेत्रभन्दा बढी आलोचना गर्ने अधिकार हुन्छ।’

नेकपाको विद्यार्थी संगठनका नेताबीच पनि गीतको विषयलाई लिएर मत बाँझिएको छ। अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङले वाक स्वतन्त्रताको अर्थ गाईजात्रे कला, साहित्य हुन नहुने टिप्पणी गरेका छन्। उपाध्यक्ष सुरेन्द्र बस्नेतले शर्माको गीत बहिस्कार गर्न आह्वान गरेका छन्।

क्रान्तिकारीकै उपाध्यक्ष विजय गौतम गीत संगीतबाट अतालिन भन्दा पनि त्यसलाई व्यंग्यका रुपमा लिएर थप सचेत हुनुपर्ने बताउँछन्। सचिव नरेश भण्डारीले सत्ताले आलोचना सहन नसक्ने भन्दै व्यंग्य गरेका छन्। उनी भन्छन्, ‘सत्ताको चरित्र नै असहिष्णु हुन्छ, यसलाई व्यंग्य र आलोचना मन पर्दैन। यसले सकेसम्म गर्ने भनेकै दमन हो। यसलाई आलोचनात्मक कार्यकर्ताको पंक्ति होइन, अरिंगालको गोलो मन पर्छ।’

वाइसिएलका अध्यक्ष भने पक्ष विपक्षमा नलगी मध्यमार्गी देखिएका छन्। उनले आफू गीतको भावसँग सहमत रहे पनि भाषा शैलीमा सहमत हुन नसक्ने प्रतिक्रिया दिएका छन्। ‘गायक पशुपति शर्माको आलोचनात्मक चेतसँग म पनि सहमत छु। कलाकारले अलिकति आक्रोस, अलिकति व्यांग्य र राजनीतिक सत्तामा देखिने विकृतिलाई खबरदारी गर्नैपर्छ तर उनको भाषा शैलीसँग सहमत हुन सकिन्न। कार्यकर्ता सबै कुकुर होइनन्, नेता सबै भ्रष्टचारी हुँदैनन्, शाषक सबै यमराज होइनन्। राष्ट्रियस्तर र चर्चित कलाकारले यस्तो असभ्य भाषा प्रयोग गरेको सुहाएन।’

प्रतिपक्ष सरकारको विरोधमा
कांग्रेस युवा नेता चन्द्र भण्डारीले शर्माको गीतलाई सत्तामा बसेकाले औषधिको रुपमा प्रयोग गर्नुपर्ने बताएका छन्। उनी भन्छन्, ‘यो गीत जनताको घर घरमा बज्नु पर्छ। भ्रष्टाचारको कुचो सिंहदरबारबाट लगाउनुपर्छ।’

विवेकशील नेपालीका संयोजक उज्जवल थापाले जुनसुकै नेतृत्व भएपनि औँला ठडाउनु नागरिकको अधिकार र जिम्मेवारी भएको बताएका छन्। उनी भन्छन्, ‘पशुपति शर्माज्यू तपाईं गाउँदै जानु हामी सुन्दै जान्छौँ।’ उनको पार्टीले विज्ञप्ति नै निकालेर गीत रोक्नु अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रमाथिकै प्रहार भएको प्रतिक्रिया दिएको छ।

त्यस्तै, विवेकशील साझाको युवा संगठन विज्ञप्ति नै जारी गरी गीत हटाउन लगाइएकोप्रति विरोध गरेको छ।

कलाकार र साहित्यकार एक
गीतलाई लिएर कलाकार र साहित्यकार भने एकढिक्का देखिएका छन्। तर, चर्चित मध्येका धेरै कलाकार भने यस विषयमा मौन छन्।

लोकगायक राम्जी खाँण जनताको मन आवाज पस्किएको गीत दुई दिनमै हटाउन पर्नु राम्रो नभएको प्रतिक्रिया दिएका छन्। जनताले आफूहरुलाई मायाप्रेमका गीत मात्र नगाई देश र जनातका गीत गाउन आग्रह गरेको बताउँदै उनले देश र जनताको गीत गगाउँदा यो अवस्था आएको प्रतिक्रिया दिएका छन्।

गायक हेमन्त शर्मा गीत संगीतलाई इगोको रुपमा नभएर गीत संगीतकै रुपमा हेरिनुपर्ने बताउँछन्। अर्का, कलाकार श्रीकृष्ण बम मल्लले कलाकारले शब्दमार्फत गीतमा भावना ब्यक्ति गर्न किन नपाउने भन्दै प्रश्न गरेका छन्। शर्माको गीत हटाउन दबाब दिएको विषयलाई लिएर उनले यसबारे कलाकारसँग सम्बन्धित संघ संस्था मौन रहनु उचित नरहेको बताएका छन्।

साहित्यकार नयनराज पाण्डेले गीत हटाएर सेन्सरसिप लगाएको भन्दै व्यंग्य गरेका छन् । उनी भन्छन्, ‘यथार्थता पो लेख्न नपाउने होला, विकृति र विसंगतीको गीत पो गाउन नपाउने होला । चिन्ता किन प्रिय स्रस्टाहरु, भजन गाउन हामीलाई कसले रोक्छ?’

त्यस्तै, साहित्यकार बुद्धिसागरले शर्माको गीत वर्तमानको ऐना भएको बताएका छन्। उनी भन्छन्, ‘गीत वर्तमानको ऐना थियो, धेरैपछि आफूलाई त्यहाँ देख्दा लाज र त्रास भएको हो।’

सर्वसाधारण आक्रोशित
गीत हटाइएको विषयालाई लिएर सर्वसाधारण भने आक्रोशित बनेका छन्। तीर्थराज बस्नेत व्यंग्य गर्दै लेख्छन्, ‘गीत लेख्दा गाउँदा ध्यान दिम्। अझ सकिन्छ भने बालुवाटारमा स्वीकृति लिम्। नत्र गोलो गोलो अण्डा दुई तिहाईको डण्डा।’

रञ्जना अतरिया कांग्रेसको सरकारको बेला यो गीत आएको भए कम्युनिस्टले ताली बजाउने भन्दै अहिले उल्टो भइरहेको बताउँछिन्।

त्यस्तै, राम ढुंगाना कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकार आएपछि रुन पनि नपाइने बताएको प्रशंग उल्लेख गर्दै अहिले गीत पनि गाउन नपाइने अवस्था आएको बताउँछन्।

यसरी सामाजिक सञ्जालमा गीतको समर्थनमा हजारौँले लेखेका छन्। गीतको विरोध गर्नेहरु धेरैजसो सत्तापक्षनिकट नै देखिन्छन्।

सामाजिक संजाल फेसबुक र ट्वीटर पशुपति शर्माको विषयमा केन्द्रित रहेर गरिएका पोस्ट भरिएको छ। कतिपयले गीतले बालुवाटारमा भूकम्प नै ल्याएको बताएका छन् भने केहीले व्यंग्यात्मक ढंगले पोस्टहरु गरेका छन्।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट