पृथ्वीलाई ‘ब्ल्याक होल’ले निल्ने खतरा छ?

 अनलाइनखबर पाटी     २९ चैत्र २०७५, शुक्रबार

विश्वका करिब २ सय खगोल वैज्ञानिकहरुले बुधबार एउटा महत्वपूर्ण घोषणा गरे।


उनीहरुले भने, ‘अन्ततः हामीले देख्नै नसकिने तस्विर खिच्न सफल भएका छौं। ती तस्विरहरु रहस्यमय ‘ब्ल्याक होल’का हुन्।’

‘ब्ल्याक होल’ आकाशगंगाको अत्यन्त टाढा रहेको एउटा रहस्यमय संसार हो। पिण्ड मात्र होइन प्रकाश नै पनि ‘ब्ल्याक होल’बाट भाग्न सक्दैन। त्यहाँ प्रवेश गरेपछि अस्तित्व गुमाउँछ।

‘ब्ल्याक होल’को रहस्यबारे वर्षौंदेखि वैज्ञानिकले तथ्य मात्र खोज गर्दै आएका थिए। यसको तस्बीर कलाकारको कल्पनामा मात्र सीमित थियो। अब यो यथार्थमा परिणत भएको छ। खगोलशास्त्रीहरुको बुधबारको घोषणा त्यही एउटा ऐतिहासिक उद्घोष हो।

‘हामीले त्यो देख्यौं जुन अहिलेसम्म कल्पनाभन्दा बाहिरको विषय थियो’, हाभर्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका खगोलशास्त्री सेप डोलेम्यान भन्छन्।

मेस्सियर ८७ भनेर चिनिने आकाशगंगामा खगोलशास्त्रीहरुले ‘ब्ल्याक होल’को तस्विर लिन सफल भएका हुन्। यो ‘ब्ल्याक होल’ पृथ्वीभन्दा ५५ मिलियन प्रकाश वर्ष टाढा छ। आगोको गोलाकारजस्तो देखिने यो ब्रह्माण्डकै शक्तिशाली ‘ब्ल्याक होल’  हो। वैज्ञानिकहरुले यसलाई ‘मोनस्टर’ आर्थात् राक्षसको संज्ञा दिएका छन्।

नेदरल्यान्ड्स राडबाउड युनिभर्सिटीका प्राध्यापक हेनो फ्लेकीकाअनुसार ‘ब्ल्याक होल’ साँच्चै राक्षस भएको बताउँछन्। यो पूरै ब्रह्माण्डमा रहेका ‘ब्ल्याक होल’मध्ये यो सबैभन्दा ठूलो हो। एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित अनुसन्धानअनुसार पृथ्वीभन्दा ५ सय ट्रिलियन किलोमिटर टाढा रहेको यो ‘ब्ल्याक होल’को तस्विर ९ वटा टेलिस्कोपको सञ्जालबाट लिइएको हो।

आइन्स्टाइनको सिद्धान्त पुष्टि

इभेन्ट होराइजन टेलिस्कोप (इएचटी)बाट यी तस्विर लिन सम्भव भएको हो। टेलिस्कोपको प्रयोगबाट खगोलशास्त्रीहरु दुईभन्दा बढी आकाशगंगा छिचोल्दै अत्यधिक ठूलो एम ८७ आकाशगंगामा प्रवेश गरी तस्विर खिचेका हुन्। ‘हामीले जे देख्यौं त्यो पूरै सौर्यमन्डलभन्दा ठूलो थियो’, प्राध्यापक फ्लेकी भन्छन्, ‘यो ब्लाक होल सूर्यभन्दा ६ दशमलब ५ अर्ब गुणा ठूलो छ। हाम्रो अध्ययनअनुसार अस्तित्वमा रहेकामध्ये सबैभन्दा ठूलो ब्ल्याक होल यही हुनुपर्छ।’ यो ‘ब्ल्याक होल’सँग ५ सय प्रकाश वर्षको खतरनाक उर्जा छ।

तस्विर लिइएको ‘ब्ल्याक होल’ आइन्स्टाइनले कल्पना गरेभन्दा पनि शक्तिशाली छ। आइन्स्टाइनको सिद्धान्तअनुसार ‘ब्ल्याक होल’ले बस्तु, स्थान र समयलाई समाप्त गर्दै सपनाजस्तो बनाइदिन्छ। अहिले वैज्ञानिकहरुले सार्वजनिक गरेको तस्विर एउटा त्यस्तै अनन्त जालोको तस्विर हो।

अन्तर्राष्ट्रिय खागेलशास्त्रीहरुको समन्वय, मिहिनेत, २ सय खागोलविज्ञको निरन्तर अनुसन्धानबाट तस्विर खिच्न सकिएको हो। ‘ब्ल्याक होल’को पहिलो तस्बीर खिचिएसँगै आइन्स्टाइनको सिद्धान्तले पूर्णता पाएको छ।

‘ब्ल्याक होल’ किन खतरनाक?
पृथ्वीबाट रातको समयमा आकाशमा देखिने ताराहरुको बाक्लो समूह जसलाई नांगो आँखाले देख्न सकिँदैन त्यो नै आकाशगंगा हो। ब्रम्हान्डमा त्यस्ता धेरै आकाशगंगा छन्। आकाशगंगा भित्र ‘ब्ल्याक होल’को अस्तित्व छ।

आकाशगंगामा एक लाखदेखि एक लाख ८० हजार प्रकाश वर्षको व्यास (मोटाइ)मा ताराहरु समेटिएका छन्। यसभित्र कम्तिमा पनि एक सयदेखि चार सय अर्ब ताराहरु रहेको अनुमान छ। आकाशगंगामा एक भित्री भाग छ जहाँ ग्यास र धूलोको बाक्लो उपस्थिति छ। यसलाई ओरियन आर्म भनिन्छ। त्यसको पनि भित्री भागलाई एउटा बाक्लो तरंगले घेरेको छ। त्यसलाई सेगिटारिअस ए भनिन्छ त्यसैलाई वैज्ञानिकहरुले ‘ब्ल्याक होल’ नाम दिँदै आएका छन्।

‘ब्ल्याक होल’ अन्तरिक्षस्थित त्यो स्थान हो जसको गुरुत्वाकर्षण बलले सबै पिण्ड एवं वस्तुहरु आफूतिर तान्छ। ‘ब्ल्याक होल’मा पसिसकेपछि प्रकाश पनि बाहिर आउन सक्दैन। यसमा अत्यन्त शक्तिशाली उर्जा र गुरुत्व बल निहित छ।

‘ब्ल्याक होल’हरु ठूला र साना दुवै किसिमका भएको वैज्ञानिकहरुको भनाइ छ। साना ‘ब्ल्याक होल’हरु अणु बराबरका पनि छन्। यिनीहरु एकदमै साना भए पनि ठूला पर्वतहरुको समूहहरु यसभित्र हुन सक्छ।

अर्को किसिमका ‘ब्ल्याक होल’लाई स्टेलार भनिन्छ। यो समूहका ‘ब्ल्याक होल’ सूर्यभन्दा २० गुणा छन्। पृथ्वीको आकाशगंगामा धेरै स्टेलारहरु रहेको अनुमान गरिएको छ। पृथ्वीको आकाशगंगालाई मिल्की वे भनिन्छ। सबैभन्दा ठूला ‘ब्ल्याक होल’हरुलाई सुपरम्यासिभ भनिन्छ। यो सुपरम्यासिभ ‘ब्ल्याक होल’ एक लाख सूर्य बराबरको हुन्छ।

वैज्ञानिकहरुका अनुसार हरेक आकाशगंगाको मध्यविन्दुमा एउटा सुपरम्यासिभ ‘ब्ल्याक होल’ निहित हुन्छ। मिल्की वे आकाशगंगाको केन्द्रमा पनि ‘ब्ल्याक होल’ रहेको वैज्ञानिक दाबी छ। यसभित्र थुप्रै लाख वटा पृथ्वी अँटाउन सक्छन्। यो ‘ब्ल्याक होल’ चार मिलियन सूर्यहरुको झुन्ड बराबरको छ।

अन्तरिक्षमा ‘ब्ल्याक होल’ले तारा, चन्द्रमा र ग्रहहरु निलेर हिँड्दैन। वैज्ञानिकहरुका अनुसार पृथ्वी ‘ब्ल्याक होल’ कहिल्यै खस्दैन किनभने हाम्रो सौर्यप्रणाली नजिक कुनै पनि ब्ल्याक होल छैनन्। (न्युयोर्क टाइम्स र बीबीसीबाट अनुवाद)

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट