अग्नी सापकोटाको नाम बालुवाटारबाट अस्वीकार, सभामुखमा पम्फा भूसाल र हरिवोलको विकल्प

 अनलाइनखबर पाटी     ४ माघ २०७६, शनिबार

अस्मिता उप्रेती माघ-४ , काठमाडौं । महिनौ लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली सभामुख पद पूर्वमाओवादीलाई दिन तयार भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका नेताहरुले दावी गरेका छन् । पार्टी एकताको मर्मअनुसार नै सभामुख पद पूर्वमाओवादीलाई दिन प्रधानमन्त्री ओली तयार भएको नेकपा स्थायी कमिटी सदस्य हरिवोल गजुरेलले बताए ।

-पार्टी एकताको मर्मअनुसार नै सभामुख चयन गर्नेमा दुई अध्यक्ष तयार भएको हामीले जानकारी पाएका छौ,- गजुरेलले भने- आइतवारसम्म सभामुखको टुंगो लागिसक्छ । पूर्वमाओवादीभित्र पनि सभामुखका धेरै आँकाक्षी छन् । अग्नीप्रसाद सापकोटा, पम्फा भूसाल, हरिवोल गजुरेल र टोपबहादुर रायमाझी प्रतिस्पर्धामा छन् ।

अध्यक्ष दाहाल अग्नी सापकोटालाई सभामुख बनाउन चाहन्छन् । तर बालुवाटार अग्नीमा नाममा सकारात्मक नभएको दाहलले आफु निकटका नेताहरुलाई बताएका छन् । अग्नीप्रसाद सापकोटालाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि पम्फा भूसाल, टोपबहादुर रायमाझी र हरिवोल गजुरेलका बिषयमा छलफल भइरहेको छ ।

सापकोटालाई युद्धकालिन अभियोग छ । उनलाई सभामुख नबनाउन अधिकारकर्मीहरुले सार्वजनिकरुपमा प्रधानमन्त्रीलाई आग्रह पनि गरिसकेका छन् । प्रधानमन्त्री ओलीले पनि सभामुखमा सापकोटालाई मन नपराएको स्रोतले बताएको छ ।

सापकोटाका बिकल्पमा अरुको नाम दिन शुक्रवार विहान ओलीले दाहाललाई आग्रह गरेका थिए । साँझ दुई अध्यक्षबीचको छलफलमा पम्फा भूसाल र हरिवोल गजुरेलका नाममा छलफल भएको थियो । पम्झा भूसालका पक्षमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् । भूसाललाई सभामुख बनाउँदा महिलाको माग पूरा हुने र सभामुखका लागि उनी सक्षम रहेको ओलीको बुझाई छ ।

तर पूर्वमाओवादीका केही नेताहरु भने भूसालका पक्षमा छैनन् । पार्टी फुटाएर गएको र पछि रामबहादुर थापा बादलसँगै पार्टीमा फर्केको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट