प्रधानमन्त्रीका IT सल्लाहकार अस्गर अलीको कम्पनी एफवान सफ्टसँग सम्झौता तोड्ने बैंकहरुकोे तयारी

 अनलाइनखबर पाटी     २७ चैत्र २०७६, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी विज्ञ अस्गर अलीको कम्पनीले अनधिकृत रुपमा काठमाडौं प्रेसको साइटमा प्रवेश गरेर समाचार डिलिट गरेपछि सोही कम्पनीसँग डेभलपमेन्ट र सर्भरको सम्झौता गरेका २१ वटा बैंकहरुले सम्झौता तोड्ने तयारी गरेका छन्।


बैंकरहरुले अलीको लगानी रहेको एफवान सफ्टसँगको सम्बन्धले जतिबेला पनि जोखिम हुन सक्ने निष्कर्ष निकाल्दै सम्झौता तोड्ने निष्कर्ष निकालेका हुन् । एक हप्ता अघि एफवान सफ्ट अन्तरगतको शिरान टेक्नोलोजीजले काठमाडौंप्रेस डटकमको एउटा समाचार अनधिकृत रुपमा साइटभित्र पसेर डिलिट गरेको थियो। यो घटनासँगै बैंकरहरु अलीसँग त्रसित बनेका छन्। बैंकर्सहरुले एफवान सफ्टसँगको व्यवसायिक सम्बन्ध तोड्ने बारेमा छलफल समेत गरिरहेका छन्। नेपाल बैंकर्स एसोसिएसनको पहलमा हालै एफवान सफ्ट कम्पनीबाट सेवा लिइरहेका बैंक तथा वित्तीय संस्थाले सम्बन्ध तोड्ने विषयमा छलफल भएको एक वाणिज्य बैंकका सिइओले  जानकारी दिए।

छलफलमा अधिकांश बैंकका सिईओले लकडाउन खुलेपछि एफवान सफ्टसँग सम्बन्ध तोड्नुपर्ने बताएका हुन्। ‘एफवान सफ्ट अन्तरगतको कम्पनीले आफैंले बनाएको न्यूज पोर्टलको समाचार हटाउँछ भने हामी पनि सुरक्षित छैनौं। त्यसैले लकडाउन खुलेपछि सम्झौता तोड्नेबारेमा छलफल भएको हो,’ ती सिइओले भने। नेपालका अधिंकाश वाणिज्य बैंक र वित्तीय संस्थाको एप एफवान सफ्टले बनाएको हो । कतिपय बैंकको डेटा होस्टिङ समेत एफवान सफ्टले गरिरहेको छ।

‘आफुलाई चित्त नबुझ्दा जेपनि गर्न सक्ने कम्पनीले हामीलाई पनि जुनसुकै बेला धोका दिन सक्ने भयो। बैंकका पेमेन्ट गेटवे, डाटा होस्टिङ एफवान सफ्टले नै गरिरहेको छ। यस्तो अवस्थामा ग्राहकको विश्वास हामी माथि नरहन सक्छ,’ अर्का एक सिइओले भने, ‘उनीहरुले जुनसुकै बेला हाम्रो सिस्टमभित्र छिरेर जे पनि गर्न सक्ने अवस्था छ। त्यसैले लकडाउनपछि सम्बन्ध तोड्ने विषयमा छलफल भएको छ। सम्भवतः सम्बन्ध तोड्ने छौं।’

९० प्रतिशत वित्तीय संस्थाका तथ्यांक समेत अस्गरकै लगानी रहेको एफवान सफ्टको हातमा छ। एफवन सफ्टले आफ्नो आधिकारिक वेबसाइटमा राखेको जानकारी अनुसार नेपालका लगभग ९० प्रतिशत वित्तीय संस्थामा उसको कुनै न कुनै भुक्तानी सेवा प्रयोग हुने गरेको छ।

एफवन सफ्टले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड व्यवस्थापन, डिजिटल वालेट, अनलाइन पेमेन्ट गेटवे जस्ता सेवा दिँदै आएको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *