दाेलखामा चुनाव अवधिभर मदिरा बिक्री–वितरण र सेवनमा प्रतिबन्ध

 अनलाइनखबर पाटी     २४ बैशाख २०७९, शनिबार

दाेलखा २४ बैशाख ।जिल्ला प्रशासन कार्यालय दाेलखाले निर्वाचन अवधिभर शनिबार १२ बजेदेखि जेठ ३ गते १२ बजे मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले राजनीतिक दलसहितको सर्वपक्षीय छलफलपछि मदिरामा कडाई गर्ने निर्णय गरेको हो ।

छलफलमा सुरक्षा निकायका प्रमुखका साथै जिल्लास्थित सबै दलका प्रमुख/प्रतिनिधिहरूको उपस्थिति रहेको प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भाेजराज खतिवडाले निर्वाचन प्रचार–प्रसारका बेला मदिराजन्य पदार्थ सेवन गरी दलका कार्यकर्ताद्वारा हिंसात्मक क्रियाकलाप हुन सक्ने भएकाले प्रशासनले यस्तो निर्णय गरेको जानकारी दिएका छन् ।

सर्वपक्षीय बैठकले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन, निषेधित समयमा मदिराको कारोबार तथा सेवन नगर्न जिल्लावासीमा अपिल गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *