हरेक वडामा व्यवस्थित पार्क

 अनलाइनखबर पाटी     २२ जेष्ठ २०७९, आईतवार

 

दीपशंकर चौलागाई

भीमेश्वर नगरपालिकाको हरेक वडामा व्यवस्थित पार्क बन्नेको छ । नगरपालिकाले हरेक वडामा पर्यटकका लागि समय बिताउने उपयुक्त स्थानका लागि पार्क निर्माण गर्न लागेको हो । भीमेश्वरमा ९ वटा वडा छ ।

पार्क निर्माणका लागि केही वडामा कामसमेत सुरु गरेको छ । भीमेश्वरको हरेक वडाको स्थानीय प्राकृतिक तथा धार्मिक सांस्कृतिक विशेषता झल्कने गरी पार्क निर्माण गर्न लागेको हो । पर्यटक आकर्षित गर्न र समय बिताउन धार्मिक, प्राकृतिक र ऐतिहासिक झल्को दिने पार्क निर्माण गर्न लागेको भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले जानकारी दिए ।

भीमेश्वर नगरपालिकाका ९ वडा पहिला नै बनेका केही पार्क र मठमन्दिरलाई व्यवस्थित गर्ने काम सुरु गरेको छ भने नयाँ पार्क निर्माणसमेत सुरु गरेको छ । उनका अनुसार भीमेश्वर नगरपालिकाको वडा नम्बर १ सुस्पामा थामी संग्रहालय निर्माण सुरु गरेको छ । सुस्पा थामी जातिको उद्गम स्थलसमेत हो ।

त्यसैगरी वडा नं। २ ऐतिहासिक दोलखा बजारमा मुद्रा संग्रहालय निर्माण गर्ने भएको छ । नेपालको पहिलो सिक्का दोलखा राज्यबाटै तत्कालीन राजा इन्द्रसिंह देवले चलन चल्तीमा ल्याएको इतिहासकारहरूको भनाइ छ । त्यसैगरी दोलखामै रहेको चम्पुजा पार्क र मञ्जुश्री पार्कलाई व्यवस्थित गर्ने भएको छ । दोलखामै साइन्स पार्कको समेत अध्ययन भइरहेको मेयर केसीले बताए ।

चरिकोट बजार रहेको वडा नं। ३ मा खेलकुद स्थलको रूपमा विकास गर्न लागेको छ । वडा नं। ३ मा साविकको टुँडीखेल व्यवखेल विस्तार, कभर्डहल निर्माणलगायतका संरचना निर्माण भइरहेको छ । वडा नं। ४ लाई व्रिन्दा वन र टहले मन्दिर रहेका छन् । वडा नं। ५ किरातीछापमा मयुर पार्क निर्माण भइरहेको छ । जंगलभरी मयुर पाइने क्षेत्रमा केही वर्ष यता लगातारको डढेलोले मयुर मासिन थालेपछि मयुर पार्क निर्माण गरेको हो । पूर्वाधार तयार गरिसकेको क्षेत्रमा यसै वर्ष जंगलमा पाइने मयुर समातेर पार्कमा राख्ने र चल्लासमेत उत्पादन गर्ने योजना नगरपालिकाको छ । वडा नं। ५ मा रहेको महांकाल मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गराउने भएको छ ।

वडा नं। ६ को खोरथली सामुदायिक वन क्षेत्रमा खुल्ला चिडियाखानाको रूपमा विकास गर्ने भएको छ । सोही क्षेत्रमा भ्यू टावर निर्माण गरी सञ्चालनमा आइसकेको छ । सीमपानी पोखरीलाई पनि पार्ककै रूपमा विकास गरेको छ । भ्यु टावरनजिकै विश्व शान्ति स्तुपा निर्माण गर्न शिलान्याससमेत भइसकेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले भीमेश्वरका हरेक योजना पर्यटन विकास लक्षित रहेको बताए । उनले वडा नं। ७ मा रहेको हात्तीछहरामा क्यानोनिङ खेलको अध्ययन भइरहेको बताए । नगरपालिका भित्र धेरै पर्यटकीयस्थल भए तापनि स्थानीय यातायातको सुविधा पर्याप्त नहुँदा नगर बस सञ्चालनको तयारी भएको बताए । चालू आवमा नगर बसका लागि ४० लाख विनियोजन गरेको छ ।

दोलखा र सिन्धुपाल्चोक सिमानामा गेट निर्माणाधीन छ । सूचना केन्द्रसहितको गेटमा दोलखा भित्रिने पर्यटकका लागि दोलखाका पर्यटकीय स्थल र खाने बस्ने होटलको समेत सम्पूर्ण सूचना त्यहाँ राखिने भएको छ । यो क्षेत्र भीनपाको वडा नं।९ मा पर्छ । खरिढुङमा शिवपोखरीलाई व्यवस्थित बनाएको छ । यहाँ र वडा नं। ८ मा सार्वजनिक शौचालयसहित पार्क निर्माण हुने भएको छ । यसले काठमाडौंदेखि आएका यात्रुहरूलाई छोटो समयको आराम गर्न समेत सघाउने अवस्था छ ।

दोलखामा आउने पर्यटकहरू सबैभन्दा बढी कालिञ्चोक मन्दिर र दोलखा भीमेश्वर दर्शनका लागि आउने गरेका छन् । अरु पर्यटकीय स्थलहरूको बारेमा पर्याप्त सूचना दिएर उनीहरूको बसाइ लम्ब्याउने गरी काम भइरहेको उनले बताए ।

भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले ५ वर्ष अघि त्रिपुरासुन्दरी मन्दिरनजिकै निर्माण गरेको चम्पुजा पार्क केही समय पर्यटक अल्मलिने समय भएको बताए । यस्ता पार्क धेरै हुँदा बढीभन्दा बढी पर्यटक आकर्षित गर्न सकिने बताए । ऐतिहासिक सहर दोलखालाई पौराणिक शैलीको सम्पदा बस्तीको रूपमा पुनर्निर्माण गर्ने गरी काम भइरहेको बताए ।

दोलखामा रहेका पुरातात्विक महत्वका मन्दिरहरू पुरानै शैलीमा पुनर्निर्माण भइसकेकाले अब निजी बस्ती पनि सम्पदा बस्तीको रूपमा निर्माण गर्न नगरपालिकाले समेत थप लगानी गर्न लागेको बताए । घरभित्र अत्याधुनिक शैलीका भए पनि बाहिरी स्वरुप पुरानै शैलीका हुनेछन् ।

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *