काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका विभिन्न संकायका ट्रान्सक्रिप्टका लागि अबदेखि अनिवार्य रूपमा अनलाइनमार्फत मात्र आवेदन लिन सुरु गर्ने भएको छ।
पनिकाले सोमबार जारी गरेको सूचनाअनुसार आगामी साउन १ गतेदेखि चार वर्षे स्नातक तह अन्तर्गतका बी.ए., बी.एड., बी.एस्सी. र बी.बी.एस. कार्यक्रमका ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन लिने व्यवस्था पूर्ण रूपमा बन्द गरिनेछ।
परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेलका अनुसार सो मितिदेखि सम्बन्धित सबै शैक्षिक कार्यक्रमका ट्रान्सक्रिप्ट आवेदन अनिवार्य रूपमा अनलाइन प्रणालीबाट मात्र दर्ता गर्नुपर्नेछ। विद्यार्थीहरूले विश्वविद्यालयको आधिकारिक वेबसाइट www.exam.tu.edu.np मा रहेको ‘स्टुडेन्ट पोर्टल’ मार्फत आफ्नो विवरण भरी आवेदन दिन सक्नेछन्। आवेदन गर्दा रजिष्ट्रेसन कार्डअनुसारको विवरण सही रूपमा भर्नुपर्ने तथा शुल्क पनि अनलाइन प्रणालीमार्फत नै तिर्नुपर्ने व्यवस्था गरिएको छ।
अनलाइन आवेदन प्रक्रियालाई सहज बनाउन कार्यालयले वेबसाइटमा ‘अनलाइन ट्रान्सक्रिप्ट एप्लिकेसन म्यानुअल’ समेत उपलब्ध गराएको छ। साथै, प्रविधिमा समस्या हुने विद्यार्थीहरूका लागि सहजीकरण गर्न बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा हेल्प डेस्क पनि स्थापना गरिएको पनिकाले जनाएको छ।
कार्यालयले विवरण गलत भरेमा युजर आईडी नबन्न सक्ने भएकाले आवेदन भर्दा विशेष सावधानी अपनाउन विद्यार्थीहरूलाई आग्रह गरेको छ।