काठमाडौँ। कर्णाली प्रदेश रङ्गशालामा पहिलोपटक नेपाली फुटबलका चर्चित पूर्वखेलाडीहरू एउटै मैदानमा प्रतिस्पर्धा गर्ने भएका छन्। आगामी शनिबार आयोजना हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा 'नेपाल लेजेन्ड्स' र 'कर्णाली लेजेन्ड्स' आमनेसामने हुनेछन्, जसले खेलप्रेमीमाझ उत्साह थपेको छ।
ग्रिनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा हुने प्रतियोगितामा एन्फाका पूर्वअध्यक्ष गणेश थापासहित उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, सागर थापा र हरि खड्का लगायतका नेपाली फुटबलका दिग्गज खेलाडीहरूको सहभागिता रहने ग्रिनल्याण्ड फुटबल एकेडेमीका अध्यक्ष शशी केसीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
स्थानीय खेलाडीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै कर्णाली प्रदेशमा खेल संस्कृतिको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको उक्त प्रतियोगितामा कर्णाली लेजेन्ड्स टोलीबाट राष्ट्रिय खेलाडी रोहित चन्द, प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रवीन्द्र चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी र ललित बसेललगायतका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
कर्णालीको खेल इतिहासमै पहिलोपटक पूर्वराष्ट्रिय खेलाडीहरू एउटै मैदानमा उत्रिने भएकाले यस प्रतियोगिताप्रति खेलप्रेमी तथा स्थानीयवासीको विशेष चासो रहेको छ।